काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठकले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको छनोटका लागि प्रक्रिया सुरु गर्ने कांग्रेस नेताहरुले बताएका छन् ।
स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य गरी कुल ५२ स्थानका लागि उपनिर्वाचन हुँदैछ । तिहारअगाडि नै उम्मेदवारको टुङ्गो लगाइसक्ने गरी उम्मेदबार छनौटको शक्तिशाली समिति गठन गर्ने कांग्रेसको तयारी छ ।
केही जिल्लाबाट एकल उम्मेदवारको नाम आए पनि कतिपय जिल्लाबाट धेरै उम्मेदवारको नाम आएकाले कांग्रेसमा उम्मेदबार छनौट गर्न सकस भएको छ । प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ का लागि १२ जनाभन्दा बढी उम्मेदवारको नाम केन्द्रमा आएको छ ।
धरान उपमहानगरपालिकाका लागि तिलक राईको एक मात्र नाम सिफारिस भएको छ । यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदमा पनि एकल उम्मेदवारको नाम सिफारिस भएको छ ।